काठमाडौं – मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तिव्र बनाएका छन् ।
बिहिबार बिहान नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका प्रचण्डले बिहिबार नै नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका छन् ।
देउवा र प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
यस्तै प्रचण्डले सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेता नेपालसँग मन्त्रिपरिषद् विस्तारकै बिषयमा छलफल गरेका छन् । सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरु पनि अलपत्र परेका छन् । मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै अहिले देउवा नेतृत्वको सरकारको आलोचना भइरहेको छ । नेपाल नेतृत्वको पार्टी पनि सरकारमा जाने तयारी भएकोले नेता नेपालको माग अनुसार मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि गर्ने तयारी भएको छ ।
