रङ उत्पादक कम्पनीले रङमा लिडको मात्रा क्रमिक रूपमा घटाउँदै लगेका छन्। घर रङ्ग्याउँदा प्रयोग गरिने इनामेलमा उच्च मात्रामा लिड रहेको र यसले मानव स्वास्थ्यमा असर गर्ने भन्दै आलोचना हुन थालेपछि कम्पनीहरूले यसमा सावधानी अपनाउन थालेका छन्।
लिडलेसमा पनि सिल्क, इमल्सन, ड्राइ ग्लसलगायतका रङको प्रयोग उपयुक्त रहेको विज्ञहरूको सुझाव छ। नेपालमा रङ उत्पादन गर्ने उद्योगले ९९ पीपीएमभन्दा बढी लिड प्रयोग गर्न पाइँदैन। मापदण्डमा रहँदै अहिलेको अवस्थामा अधिकांशजसो रङ कम्पनीको रङमा योभन्दा बढी लिड पाइदैन। सस्ता, कमसल तथा बढी लिड भएको रङ प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुरालाई मध्येनजर गर्दै रङ उत्पादकले गुणस्तरीय रङ उत्पादन गर्न थालेका छन्।
तर केही रङम भने ४ हजार पीपीएमसम्म लिड प्रयोग गरिएको मात्रा भेटिएको छ। यस विषयमा सर्वसाधारण सचेत हुन जरुरी छ। रङमा प्रयोग हुने लिडले सबैभन्दा धेरै असर बच्चाको बौद्धिक विकासमा पर्छ। लिडले श्वासप्रश्वासमा पनि असर गर्छ। उच्च लिडको प्रयागले पुरुषमा उच्च रक्तचाप, नपुंसकता तथा किड्नीमा समस्या ल्याउन सक्छ। त्यस्तै महिलाको महिनावारी बिग्रने, गर्भ तुहिने जस्ता समस्या देखिने गरेको छ। लिड बढी भएको रङकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपांगा हुने र एक लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ।
