काठमाडौं – नेकपा एमालेका नेता सुवास नेम्वाङले तँ र म को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेम्वाङले माधवकुमार नेपालप्रति लक्षित गर्दै सो कुरा बताएका हुन् ।
उनले विना विचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको बताए । उनले उक्त व्यवस्था विपरीत गएर माधव नेपालहरूले पार्टी फुटाएको आरोप लगाए ।
उनले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको रु भनेर माधव पक्ष नेताहरूलाई प्रश्न गर्न भनेका छन् । उनले तिमीले नेकपा एमाले छाडेर किन छुट्टै राजनीतिक दल बनायौँ भनेर प्रश्न गर्नुपर्ने पनि बताए ।
उनले भने – ‘मैले तपाईँहरूसमक्ष राख्न खोजेको कुरा के हो भने तपाईँहरू आ–आफ्नो ठाउँबाट जुरुक्क उठ्नुपर्छ । गाउँ–गाउँबाट उठ्नुपर्छ, घर–घरबाट उठ्नुपर्छ, र सोध्नुपर्छ– कुन चाँहि विचारधारामा फरक पर्याे, कुन चाँहि दर्शन फरक पर्याे ? कुन चाँहि कार्यक्रम फरक पर्याे ?’
उनले भने – ‘तिमीले नेकपा एमाले छाडेर किन छुट्टै राजनीतिक दल बनायौँ भनेर प्रश्न गर्नुपर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरूले । म यतिमात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नुपर्छ । अहिले नै प्रष्ट देखिएको छ ।’
