काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पछिल्लो समय निकै चर्चा चलिरहेको छ । महाधिवेशनको चर्चासँगै अहिले सभापति र महामन्त्रीमा को को उठ्छन् भन्ने चासो पनि बढीरहेको छ ।
यस्तै यस पटक महामन्त्री पदमा दुई नेताहरुको भीडन्त हुने भएको छ । केही दिनअघि एक कार्यक्रमकाबीच नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । यसअघिको महाधिवेशनमा पनि महामन्त्रीमा नै उठिसकेका नेता थापासँग यस पटक भने विश्वप्रकाश शर्मा भीड्ने भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चुनाव लड्ने तयारीमा रहेका थापा यस पटकपनि जित्ने दाउनमा दारो रुपमा उभिएका छन् । शर्मा शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठ्ने भएका हुन् । उनले बिपीको जन्मजयन्तीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
यस्तै महामन्त्री पदमा पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि आउने चर्चा छ । यस पदमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक लगायतका नेताहरु पनि आकांक्षी हुन्।
यस्तै सभापतिमा हालसम्म उपसभापति विमलेन्द्र निधि र कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले उमेदवारी दिने घोषणा गरिसकेका छन् । कांग्रेसका अन्य नेताहरु पनि सभापतिमा उठ्ने तयारी गरिरहेका छन् । बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापति पदका आकांक्षी हुन्।
यस्तै सभापति पदलमा संस्थापन पक्षबाट फेरि देउवा पनि उठ्ने तयारी गरिरहेका छन् । महाधिवेशन अन्तर्गतको गाउँ तथा नगर वडा अधिवेशन शुक्रबारदेखि शुरु भइसकेको छ । हालसम्म नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भने आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।
