काठमाडौं – काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो पानी परेको छ । आइतबार रातिदेखि नै परेको पानीले काठमाडौं उपत्यका विभिन्न स्थान डुबानमा परेको छ ।
गएरातिदेखिको लगातारको पानीले शंखमुल पार्क लगायतका क्षेत्र बाढीले डुबानमा परेको छ । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका बस्ती पनि डुबानमा परेको छ । बल्खुको फलफूल तरकारी बजार पनि जलमग्न भएको छ ।
यस्तै टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । यस्तै वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको केही गाडी बगाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
