काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार ओलीको रिटमा सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले उक्त रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले मागबमोजिम अन्तरिम आदेश भने दिएन । अन्तरिम आदेशमा निर्णय गर्न भदौं २८ गते दुवै पक्षलाई झिकाउन आदेश दिइएको छ । आदेश अनुसार १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।
ओलीले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुख अग्निप्रसाद सापकोटाले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको र अवैध रुपमा नेकपा एकीकृत समाजवादी० दर्ता गरेको भन्दै सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
