काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहिबार फतिमा नेतृत्वको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा भएको शिष्टाचार भेटमा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् ।
ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट अवरोध भएको र अहिले प्रतिपक्षीमा भएकाले आफ्नो हातमा नभएको स्पष्ट पारेको एमाले विदेश विभाग प्रमुख डा। राजन भट्टराईले जानकारी दिए । भेटमा ओलीले सत्ताको पोजिसन क्लियर नभएसम्म अहिले एमसीसीमा धारणा नबनाउने जवाफ दिएका थिए ।
फतिमा नेतृत्वको प्रतिनिधिमण्डलसँग ओलीको भेटबारे विदेश विभाग प्रमुख भट्टराईले भने ‘एमसीसीको विवादका विषयमा उहाँहरु (फातिमा)ले आफ्नो धारणा सुनाउनुभयो । यहाँको अवस्थालाई हेरेर धेरै कुरा स्पष्ट पारेका छौं । लामो समयसम्म नगोसिएसन भएर टुंगिएको विषय हो । अहिले जुन विवाद आयो यो नहुनु पर्थ्यो जस्तो लाग्छ भन्नुभयो’
ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने – ‘ओलीले आफूहरु सत्तामा रहँदा एउटा जिम्मेवार सरकारको नाताले अघिल्लो सरकार (देउवा) ले गरेको सम्झौता भए पनि दुइटा मुलुकबिच भएका सम्झौता निरन्तरता हुनुपर्छ भन्ने हिसाबले पार्टीभित्रै कतिपय रिजर्भेसन हुँदाहुँदै पनि अगाडि बढाउने कोसिस गरेका हौं । हामीले संसदमा टेबल गरिसकेका छौं । सभामुख लगायत केही व्यक्तिको भूमिकाको कारणले अघि बढ्न सकेन भन्नुभयो ।’
फातिमासँगको भेटमा ओलीले अहिले आफूहरु प्रतिपक्षमा रहेको भन्दै एमसीसी पास हुने नहुने सत्तारुढ गठबन्धनमा निर्भर रहेको पनि बताएका थिए ।
