नेपाल टेलिकमले जिल्लामा आफ्ना सेवाहरु जेनरेटर सञ्चालन गरेर सेवा सुचारु गरेको छ । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु राख्न महँगो ईन्धन खरिद गरेर टेलिकमलाई सेवा सुचारु गर्नु परेको हो ।
हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत सेवा बन्द रहेपछि नेपाल टेलिकमले जेनरेटर सञ्चालन गरेर आफ्ना सेवा सुचारु गर्न थालेको शाखाका लाइन म्यान राम बहादुर भण्डारीले बताउनुभयो । पावर नभएपछि बन्द रहेको मोबाइल तथा एडिएसएल सेवा सुचारु गर्न जेनरेटर चलाइएको उहाँले बताउनुभयो । बिद्युत्तकै कारण नेपाल टेलिकमले एडिएसएल र मोबाइल सेवा सुचारु गर्न बिहान र बेलुकाको समय जेनरेटर सञ्चालन गर्ने गरेको हो । उहाँले विद्युत आपूर्ति बन्द भएदेखि बिहान छ बजेदेखि नौ र बेलुका पाँच देखि सात बजेसम्म जेनरेटर चलाएर सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
शाखामा मोबाइल टावरकै लागि राखिएका सोलारले घाम नलाग्दा काम नगर्ने भएको कारण साढे तीन सय प्रतिलिटर मूल्य पर्ने इन्धन खरिद गरेर सेवा सुचारु गर्दै आएको हो । जेनरेटर चलाएर सेवा सुचारु गरेपछि सेवाग्राहीलाई भने केही सहज भएको छ । तर मोबाइल चार्ज गर्न भने समस्या हुने गरेको छ । जेनरेटर चलाउनु पर्ने भएपछि टेलिकमले राती नौ बजेपछि भने चोर जी, एडिएसएल र मोबाइल सेवा बन्द गर्दै आएको छ । हिल्दु वितरण केन्द्रका विद्युत सेवा बन्द हुँदा सबैतिरका सेवाग्राही मर्कामा पर्दै आएका छन् ।
