काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाले अहिले एमसीसी परियोजनालाई फिर्ता पठाउनु पर्ने माग सहित देशभर आन्दोलन घोषणा गरेको छ । हिजो राजधानीमा बृहत सभा आयोजना गर्दै आन्दोलनको सुरुवात गरेको छ ।
नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अमेरिकाको नियत नेपाललाई आफ्नो मुट्ठीमा राख्ने भएकाले एमसीसी परियोजना नेपालमा ल्याउन खोजेको आरोप लाएका छन् । अमेरिकाले नेपालमा विकास भन्दा बढी संसारमा आफ्नो शक्ति र प्रभाव बढाउन एमसीसी परियोजना देखाएर नेपालको राजनीतिमा हस्ताछेत गर्न खोजेको प्रकाण्डले प्रष्टाएका छन् ।
क्यानाडा नेपालको प्रस्तुति सार्थक प्रश्नमा प्रकाण्डले भने, “अमेरिकाले हाम्रो देशमा आफ्नो प्रभाव बढाउन खोजेको हो जसले गर्दा हाम्रो छिमेकी राष्ट्र चीनसंग आफ्नो शक्ति र प्रभाव बढाउन सकोस त्यसैले एमसीसी परियोजना अनुदानको रुपमा दिएर धेरै सर्तहरु राखेको छ । हाम्रो पार्टीको माग भनेको संसोधन गरेर पारित होईन यो परियोजना फिर्ता नै पठाउनु पर्छ भन्ने हो ।”
प्रकाण्डले भने, “केपी ओली सरकार ढल्नुको एक कारण भनेको एमसीसी पारित गराउन नसक्नु पनि हो । एमसीसी कसले पारित गर्ने भन्ने होड बाजी दलहरु बीच चलेकोले गर्दा एमसीसीको खुलेर समर्थन र विरोध कसैले गर्न नसकेका हुन् । शेरबहादुर देउवाले पास गराउछु त भनेका छन् तर सम्भव देखिदैन ।”
चीनले नेपालको राष्ट्रियता माथि असर पर्ने कुनै काम नगरेकोले अमेरिकाको एमसीसी परियोजना पास गराएर छिमेकी राष्ट्रहरुलाई समेत असर पर्ने गरि कुनै कदम चाल्न नहुने प्रकाण्डको भनाई रहेको छ ।
एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको कारण आफ्नो पार्टीले आन्दोलन गरि दबाब सृजना गरेर पारित हुन नदिने कुरा प्रकाण्डले उल्लेख गरेका छन् ।
