सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन भएको छ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे कार्यालयको उद्घाटन गर्नुभएको हो ।
झण्डै दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको विषयमा पत्रकारहरुसँग बोल्नुहुदै अध्यक्ष नेपालले यस विषयमा एक हप्ताभित्र टुंगो लाग्ने बताउनुभयो। असोज ४ गते प्रतिनिधिसभाको बैठक बस्दैछ, आशा गरौ, एक हप्ताभित्र सरकार र सदन लगायत सबैको टुंगो लाग्छ, नेकपा (एस) का अध्यक्ष नेपालले बताउनुभएको छ ।
कार्यालय उद्घाटन गर्नुहुदै अध्यक्ष नेपालले नेकपा (एस) देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गर्नुभएको छ । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउनुहुँदै उहाँले नेकपा (एस) नविन सोच र मान्यताका साथ अघि बढ्ने बताउनुभएको हो । नेपाल नेतृत्वको नेकपा (एस) क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवा वर्गमा आशा देखाएको उहाँले बताउनुभयो ।
पार्टी र आन्दोलनको रक्षामा सधै समर्पित हुने बताउनुहुदै नेता नेपालले राजनीतिक तथा सबै क्षेत्रमा देखिएको विकृति र विसंगति हटाउन दृढतापूर्वक उभिने बताउनुभएको छ । यसैक्रममा, आगामी दिनमा सत्ता पक्षसँग सामेल भएरै अगाडि बढ्ने र सातै प्रदेशको सरकार सञ्चालनमा सहभागी हुने अध्यक्ष नेपालले बताउनुभयो ।
