काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विभिन्न विषयमा छलफल गरेका हुन् ।
उक्त छलफलमा पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ।
देउवासँगको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, रमेश लेखकलगायत नेता सहभागी रहेका थिए । बैठकमा क्रियाशील सदस्यता विवाद समाधान गरी यही असोज ५ गते निर्धारित वडा अधिवेशन समयमै सम्पन्न गर्ने सहमति जुटेको जनाइएको छ ।
कांग्रेसले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यताको काम सकेको छ भने सोको विवरण पनि सार्वजनिक गरिसकेको छ । यस्तै ५७ जिल्लामा वडा अधिवेशनस पनि सकेको छ। कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भइसकेको छ भने बाँकी २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते गर्ने भनिएको छ ।
