काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट वितरण गर्दैछ । विगतमा झैं यो वर्ष पनि नेपालीको महत्वपूर्ण चाड दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले नयाँ नोट वितरण गर्न लागेको हो । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागले जनाएको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिनेछ ।
उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गएर नोट साट्न सकिनेछ । केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने भएको छ ।
