काठमाडौं । गठबन्धनको सरकार बनेको ७० दिन बितिसक्दा पनि मन्त्रीपरिषदले पूर्णता पाएको छैन । मन्त्रीपरिषदले पूर्णता नपाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका छन् तर देउवाको चाहनाले भन्दा पनि वाध्यताले पूर्णता पाउन नसकेको कुरा खुलेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद विघटन गर्नु भन्दा गठबन्धनको सरकारलाई आगामी निर्वाचनसम्म टिकाउन वाध्यता बनेको छ । त्यसैले प्रधानमन्त्री देउवा गठबन्धनमा रहेका पार्टीहरुलाई रिझाएर सरकार संचालन गर्न लागिपरेका छन् जसका कारण आफू विवादमा परेका छन् ।
गठबन्धनमा रहेका दलहरुको समर्थनले बनेको देउवा सरकार कुनै बेला पनि ढल्न सक्ने संकेत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमै भन्ने गरेका छन् । प्रचण्डको भनाईको आशय थियो, “यदी प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको दलहरुले भने अनुरुप गरेनन् भने समर्थन फिर्ता लिएर सरकार ढाल्न सक्छौं ।” प्रचण्डको उक्त अभिव्यक्तीले गर्दा प्रधानमन्त्री देउवा गठबन्धनको दलहरुले भने अनुरुप सरकार चलाईरहेका छन् भन्ने प्रष्ट देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार गठन गर्न सहयोग पुर्याएका माधव नेपाल समूहलाई नयाँ पार्टी खोल्न सहज हुनेगरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याईदिए । उक्त अध्यादेश रातारात ल्याउँदा प्रधानमन्त्री देउवा विवादमा मुछिए तर गठबन्धन जोगाउन अध्यादेश ल्याएरै छाडे । अहिले त्यही अध्यादेश निष्कृय नभएसम्म मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् । उनलाई मन्त्रीपरिषद विस्तार गर्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव हुन् ।
बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको हात गठबन्धनमा रहेका दलहरुले बाँधेका कारण मन्त्रीपरिषद विस्तार हुन नसकेको हो । श्रोतका अनुसार प्रधानमन्त्री देउवाले मन्त्री बन्ने सांसदहरुको लिष्ट माग्दामाग्दै पनि माओवादी र जसपाले बुझाएका छैनन् । माओवादी र जसपाले दल विभाजन सम्बन्धी अध्यादेश निष्कृय नभएसम्म मन्त्रीपरिषद विस्तार गरे आफ्नो पार्टी फुट्ने भन्दै प्रधानमन्त्री देउवालाई केहि समय रोक्न आग्रह गरेका छन् ।
“प्रधानमन्त्री देउवाले धेरै आलोचना भयो केपी ओली सरकार भन्दा बढी बदनाम हुने भईयो बरु मन्त्रीपरिषद अहिले विस्तार गरौँ बरु मन्त्रीहरु फेरि फेरबदल गरौंला भनेर प्रचण्ड र उपेन्द्र यादवलाई भन्दा हुदैन यो अध्यादेशले गर्दा हाम्रो पार्टी फुट्छ भनेर रोके । सांसदहरुले भित्र भित्रै छलफल गरेर तयारी अवस्थामा रहेकोले भनेको मन्त्रालय वा मन्त्री पद नदिने आजको भोली पार्टी फुटाउने भएकाले पहिला अध्यादेश निष्कृय बनाउने अनि मन्त्रीपरिषद विस्तार गरौँ भनेर प्रचण्डले देउवालाई कन्भिन्स गराएका छन् ।” श्रोतले जनाएको छ ।
जसपामा केही सांसदहरु मन्त्री पाउने लोभले महन्थ ठाकुर तर्फ नगएका छन् जो मन्त्री बन्ने लिष्टमा नपरे जुनैपनी बेला पार्टी छोड्न तयार छन् । उपेन्द्र यादवलाई केही सांसदहरुले मन्त्री नबनाए महन्थ ठाकुर तर्फ जाने निर्णय समेत सुनाईसकेका छन् । मन्त्रीपरिषद विस्तार कुरिरहेका सांसदहरु पार्टी फुटाएर जान खुट्टा उचालेर बसेका छन् । अहिले उपेन्द्र यादवलाई महन्थ ठाकुर भन्दा आफ्नो पार्टीलाई मधेशमा बलियो बनाउनुछ जसको कारण पार्टी फुटाउनबाट रोक्नुछ ।
माओवादी केन्द्रमा समेत जसपाको जस्तै हालत रहेको छ । नारायणकाजी श्रेष्ठले केही सांसदहरु बोकेर बसेका छन् । आफूलाई भने अनुरुप मन्त्रालय नदिए पार्टी फुटाउन संख्या पुग्ने भएकाले पार्टी फुटाउने निर्णय लिएर बसेका छन् जसका कारण प्रचण्ड अहिले आत्तिएका छन् ।
नारायणकाजीसंगै कृष्णबहादुर महरा समेत आफ्नो मान्छेलाई मन्त्री नदिए माओवादी केन्द्र छोड्ने संकेत दिएको बुझिएको छ । प्रचण्डले माओवादी केन्द्रमा एकलौटी गरेको र आफू निकटलाई मात्र बढी प्राथमिकता दिएका कारण माओवादी केन्द्रका शिर्ष नेताहरु रुष्ट छन् । यही डरले प्रचण्डलाई दल विभाजन सम्बन्धी अध्यादेशले आफ्नो पार्टी फुट्ने हो कि भन्ने दरले मन्त्रिपरिषद विस्तार गर्न रोकेका छन् ।
माधव नेपाललाई समेत अहिले दबाब आएको श्रोतको दाबी छ । माधव नेपालले समेत पहिला उक्त अध्यादेश निष्कृय गरम अनि विस्तार गर्ने दबाब दिएका छन् । मन्त्री बन्ने लोभले केपी ओली छोडेर माधव नेपालको पछि लागेका केही सांसदहरु मन्त्री नपाए एमाले फर्किने घुर्की दिन थालेका छन् जसका कारण माधव नेपाल समेत उक्त अध्यादेश निष्कृय हुन कुरिरहेका छन् ।
