नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूविरुद्ध राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले मुद्दा चलाइएको आरोप लगाउनुभएको छ । बुधबार दिउँसो पत्रकार सम्मेलन मार्फत गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।
‘डेढ वर्षको मौनतापछि तपाइँहरुको समक्ष उभिएको छु । यस क्रममा राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले आफूविरुद्ध मुद्दा चलाइएको छ । यसपछि डेढ वर्षको अन्तरारमा एक पटक पनि आफू सार्वजनिक रुपमा उपस्थित भइन,’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘न्यायलयबाट न्याय पाएपछि मात्रै सार्वजनिक रुपमा आफ्नो कुरा राख्ने सोचमा थिएँ ।’
गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई फसाउन खोजिएको आरोप लगाउनुभयो । उहाँले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको समेत बताउनुभयो ।
‘प्रम निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुपहिले नै सुरू भएको हो । तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ,’ उहाँले भन्नुभयो,‘मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ । मलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भएको छ ।’ सरकारको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा आफूले विभागीय मन्त्रीको भूमिकामात्र निर्वाह गरेको उहाँले बताउनुभयाे ।
०७६ को २२ माघमा बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध मुद्दा चलेपछि गच्छदार सार्वजनिक कार्यक्रममा देखिनुभएको थिएन । ०७४ को चुनावअघि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गराएपछि गच्छदारलाई काँग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षपछि उपसभापति बनाउनुभएको थियो ।
काँग्रेस संसदीय दलको उपनेतासमेत रहनुभएका उहाँको सांसद पद पनि निलम्बित छ । उहाँलाई विशेष अदालतले ३० असारमा १० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले आफूविरुद्ध मुद्दा चलाइयो : गच्छदार
राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले आफूविरुद्ध मुद्दा चलाइयो : गच्छदार
तपाईको प्रतिक्रिया
