काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई सुदूरपश्चिमको धनगढी पुगेर युवाहरुसंग अन्तरक्रिया गरेका छन् । धनगढीका युवाहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईलाई बाईक र्याली सहित भव्य स्वागत गरिएको छ ।
मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक समेत रहेका रहेका प्रसाईंले युवाहरुले साथ दिए सुदूरपश्चिममा पनि क्यान्सर अस्पताल खोल्न सक्ने कुरा बताएका छन् । युवा पुस्ताहरुले आफूमाथि विश्वास गरेर निम्तो दिएको कारण आफू आएको र साथ सहयोग पाए सुदुरपूर्वमा झैं सुदुरपश्चिमलाई पनि मेडिकल हबको रुपमा बनाउन सक्ने कुरा उल्लेख गरेका छन् ।
झापामा सञ्चालनमा रहेको बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण अहिले सुदुरपूर्वमा मेडिकल चहलपहल बढेको र अब काठमाडौं र सुदूरपश्चिममा पनि अध्ययन गरेर अस्पताल र कलेज खोल्न सकिने कुरा दुर्गा प्रसाईले कार्यक्रममा बताएका छन् । युवाहरुले दुर्गा प्रसाईमाथि भरोसा भएकाले आफूहरुले सक्दो साथ दिने कुरा कार्यक्रममा राखेका छन् ।
सुदूरपश्चिम पहिलोपल्ट पुगेका दुर्गा प्रसाईले यो ठाउँमा अस्पताल खोल्न सके राम्रो हुने कुरा बताएका छन् । युवाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रसाईले भने, “म यो गर्छु त्यो गर्छु त भन्दिन किनकी म नेता होईन र नेता जस्तो बोल्न नि सक्दिन । सक्ने कुरा मात्र बोल्छु र सुदूरपश्चिममा एउटा क्यान्सर अस्पताल खोल्न सकिन्छ यदी तपाईहरुले चाहनु भयो र मलाई साथ दिनुभयो भने ।”
युवाहरुले दुर्गा प्रसाईमाथी आशा रहेकोले सुदूरपश्चिममा निम्तो गरेर कार्यक्रम आयोजना गरेको बताएका थिए । किन दुर्गा प्रसाई भन्दा आयोजक कमिटीले भने, “नेताहरुले बोल्ने मात्र गरे तर केही गरेनन् तर दुर्गा प्रसाईले बोले जस्तो आफ्नो छेत्रमा गर्नु भएको छ । त्यसैले वहाँले यहाँ आएर युवाहरुलाई हौसला दिनुभयो भने हामी साथ दिन्छौ । वहाँको जस्तो जोश र हौसला हाम्रो नेताहरुमा नभएकाले अब सुदूरपश्चिममा अस्पताल खोल्न दुर्गा प्रसाई नै चाहिएको लाग्यो र हामीले वहाँलाई निम्तो गर्यौं । वहाँ जस्तो व्यस्त व्यक्तिले हाम्रो निम्तो स्वीकारेर आइदिनु भयो ।”
युवाहरुले दुर्गा प्रसाईलाई एयरपोर्टमा फुलको माला लाएर स्वागत गरेका थिए । एयरपोर्टबाट कार्यक्रम स्थलसम्म बाईक र्याली गर्दै युवाहरुले स्वागत गरेका थिए ।
