काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गरेका छन् । बुधबार नेकपा एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलामा ओलीले सो कुरा बताएका हुन् । उनले विकासका काम अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए ।
सरकार बनेको लामो समयसम्म पनि पूर्णता पाउन नसकेको बताउदै ओलीले वर्तमान सरकारले गति लिन नसकेको बताए । उनले सरकारबाट राजदूत फिर्ता बोलाउनेबाहेक सरकारले अरु केही काम गर्न नसकेको पनि बताए ।
अहिलेको प्रतिपक्षमा एमाले भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ अगि बढ्न ओलीले कार्यकर्तालाई निर्देशन पनि दिए ।
उक्त कार्यक्रममा ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी पनि गरे । नेपाललाई व्यंग्य गर्दै उनले भने – ‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिँडिरहेका छन् । यिनको राजनीति फर्किँदैन’
ओलीले यही चुनावपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि सेखी झर्ने बताए । उनले भने – ‘प्रचण्डले कहिलेकाहीँ राम्रो कुरा गर्छन् । अस्ति कता हो, दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेछन्’ – उनले थपे ‘धेरै भाग खान हिँडेका थिए । अब सकिन्छन् ।’
ओलीले अहिले प्रचण्ड र नेपालको दिमागमा पद, मान, सम्मानमात्रै रहेको पनि बताए ।
