काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने बिषयमा केन्द्रित रहेर छलफल भए पनि सहमति जुट्न सकेन ।
आजको बैठकमा संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने र छिटो मन्त्रिपरिषदको विस्तार गर्ने विषयमा छलफल भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल लगायतको सहभागी रहेको थियो ।
माओवादी केन्द्रको बैठक
बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका थिए । बैठकमा प्रचण्डले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएको प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिएका थिए ।
