काठमाडौं । कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा प्रोपर्टी धितो बन्धक राख्नुपर्ने हुन्छ । सम्पत्ति धितो नराखी कुनै पनि बैंकले ऋण पत्याउँदैनन् । घरजग्गा धितो राखेर ऋण लिँदा लालपूर्जा बैंकलाई बुझाउनुपर्छ ।
बैंकले धितो राखेको सम्पत्तिको लालपूर्जा सम्बन्धित मालपोत कार्यालयबाट घरजग्गा किनबेच गर्न नपाउने गरी रोक्का राख्ने गर्छन् । अर्थात् बैंकको ऋण चुक्ता गरेर धितो फुकुवा नगर्दासम्म प्रोपर्टी किनबेच वा नामसारी गर्न पाउनुहुन्न ।
घरजग्गामा कुनै पनि व्यक्तिको स्वामित्व, हक–अधिकार छ कि छैन भनेर हेर्ने सबैभन्दा ठूलो प्रमाण लालपुर्जा हो । यदि लालपुर्जा छैन भने कुनै पनि घरजग्गामा तपाईंको स्वामित्व रहेको ठहरिँदैन । यदि बैंकमा राखेको लालपूर्जा हरायो भने के हुन्छ ? बैंकबाट हराएको लालपुर्जा कसरी निकाल्न सकिन्छ ? आज हामी तपाईं लाई बैंकमा राखेको लालपुर्जा हराएमा के गर्ने भनेर जानकारी गराउन जाँदै छौं ।
एनएमबि बैंककी रिलेसनसीप म्यानेजर श्रद्धा अमात्यका अनुसार, बैंकमा राखेको लालपुर्जा सित्तिमित्ती हराउँदैन । ‘बैंकले लालपूर्जा एकदमै सुरक्षित राखेको हुन्छ, लालपूर्जा हराउँदै हराउन्न, हाम्रो बैंकबाट अहिलेसम्म कसैको लालपूर्जा हराएको रेकर्ड छैन्’ उनले भनिन्, ‘यदि केही गरि हराएमा लालपूर्जा निकाल्न बैंकले नै आवश्यक सहयोग गर्छ ।’
बैंकमा राखेको लालपूर्जा यत्तिकै हराउने सम्भवना कम हुने नेपाल बैंकर्स एशोसियसन (एनबीए)को भनाइ छ । बैंकले एकदमै बलियो भल्टमा लालपूर्जा राखेको हुन्छ जहाँ धेरै कम कर्मचारीको मात्र एक्सेस हुने गर्छ ।
कहिलेकाहीँ भैपरी आउने समस्याहरु जस्तै लागलागी भएमा, बाढी पहिरोले बैंकको शाखा बगाएमा, बैंकमा चोरी–डकैती भएमा तपाईं ले धितो बन्धक राखेको लालपूर्जा हराउन पनि सक्छ । यदि बैंकबाट लालपूर्जा हराइहाल्यो भने पनि तपाईं ले चिन्ता लिनुपर्दैन । निश्चित प्रकृया पुरा गरेर सम्बन्धित मालपोत कार्यालयबाट लालपूर्जाको प्रतिलिपि निकाल्न सकिन्छ । बैंकको गल्तीले लालपूर्जा हराएको खण्डमा आफैले आवश्यक सहजीकरण गरेर सम्पत्तीधनीलाई मालपोतबाट लालपूर्जाको प्रतिलिपि निकाल्न सहयोग गर्ने अमात्य बताउँछिन् ।
उनी भन्छिन्, ‘बैंकको गल्तीले कसैको लालपूर्जा हरायो वा मिस्ड भयो भने सबै खर्च व्यहोरेर लालपूर्जा निकाल्ल कहाँ कहाँ सिफारिस गर्नुपर्ने हो बैंक आफैले गरिदिन्छ । तर, बैंकले लालपूर्जा लगायत सबै डकुमेन्ट एकदमै सुरक्षित राख्ने हुँदा भइपरी आउने समस्यामा बाहेक अरु बेला हराउने सम्भवना रहँदैन ।
लालपूर्जाको प्रतिलिपी कसरी निकाल्ने ?
लालपुर्जा हराउँदैमा तपाईंको सम्पत्ती हराउने होइन । तपाईंँको सम्पत्तिकै यत्तिकै कसैले नामसारी गर्न सक्दैनन् । त्यसैले लालपुर्जा हराएमा चिन्ता लिनु पर्दैन । सम्बन्धित मालपोत कार्यालयबाट लालपुर्जाको प्रतिलिपि सजिलै प्राप्त गर्न सकिने लगनखेल मालपोत कार्यालयका मालपोत अधिकृत विदुर अधिकारी बताउँछन् ।
यदि तपाईं वा बैंकसँग तपाईं को प्रोपर्टीको कित्ता नम्बर यकिन छ भने लालपुर्जा हराउँदा प्रतिलिपि निकाल्न धेरै सजिलो हुन्छ । बैंकले डिजिटल्ली तपाईं का कागजपत्र सुरक्षित राखेको खण्डमा कित्ता नम्बर हेर्न सजिलो हुन्छ । तपाईं हामीले आफ्नो घरजग्गाको लालपूर्जाको फोटोकपी घरमा राख्दा धेरै राम्रो हुन्छ ।
हराएको लालपुर्जाको कित्ता नम्बर यकिन भएमा प्रतिलिपि निकाल्नका लागि प्रकृया छोटो हुने मालपोत अधिकृत अधिकारी बताउँछन् । घरजग्गाको कित्ता नम्बर यकिन छ भने सिधै सम्बन्धित वडा कार्यालयमा गएर फलानो ठाउँको फलानो कित्ता नम्बरको घरजग्गाको प्रतिलिपी पाउँ निवेदन दिन सकिन्छ । यदि कित्ता नम्बर थाहा छैन भने सेवाग्राहीले कित्ता नम्बर पहिचान गर्न नागरिकता बोकेर पहिला मालपोत कार्यालयमा जानुपर्छ ।
त्यहाँ गएर कित्ताकाट हेर्दा तपाईं को जग्गा बैंकमा धितो बन्धक राखेको देखिन्छ । तर, तपाईं सँग बैंकका कर्मचारी पनि साथमै हुने भएकोले आवश्यक प्रकृया बैंककै कर्मचारीले पुरा गरिदिन्छन् । बैंकले जग्गाको कित्ता नम्बर दिएपछि फेरी वडा कार्यालयमा गएर प्रतिलिपी लिनुपर्ने हुन्छ ।
वडा कार्यालयबाट फोटो सहितको तीन पुस्ते खुलाएको सिफारिस लिएर मालपोत कार्यालयमा बुझाउनुपर्छ । जग्गाधनीको सम्पूर्ण विवरण र जग्गाको विवरण भरिएको त्यो सिफारिसको आधारमा मालपोत कार्यालयले लालपुर्जाको प्रतिलिपि दिन्छन् ।
मालपोत कार्यालयमा गएर ‘लालपुर्जाको प्रतिलिपी पाउँ’ भन्ने निवेदनको फम्र्याट भनेर वडाको सिफारिससहित बुझाउनुपर्ने मालपोत अधिकृत अधिकारीको भनाइ छ । त्यो फम्र्याट भरेर वडाको सिफारिस र नागरिकताको फोटोकपी सहित बुझाएपछि मालपोत कार्यालयका कर्मचारीले मोठ (श्रेस्ता)सँग भिडाएर तपाईंको हराएको लालपुर्जाको प्रतिलिपी दिन्छन् ।
