काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री देउवा र शर्माबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
आफुले प्रधानमन्त्री देउवालाई भेट गरेर विभिन्न सुझावहरु दिएको बारे प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले देउवासँगको भेटमा तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको बताएका छन् ।
प्रवक्ता शर्माको उक्त सुझावको जवाफमा देउवाले भने – ‘यो मानवीय र साझा बिषय हो । कानुन बनाउन मात्र होइन कार्यान्वयन गर्नपनि सरकार लाग्छ। म यसमा प्रष्ट छु र दृढ़ छु ।’
यस्तै आफु र देउवाबीच पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरी लगायतका बिषयमा पनि छलफल भएको उनले बताए । उक्त भेटम प्रचार विभागले महाधिवेशन पुर्व चिन्तन चौधौं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पनि उनले बताए ।
