काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन गर्न सजिलो हुने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।
सरकारले गत भदौ ९ गते ४० प्रतिशतको प्रवाधान हटाएर केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत मात्र भएपनि दल विभाजन गर्न सकिने नयाँ प्रावधान ल्याएर अध्यादेश जारी गरेको थियो ।
अध्यादेश जारी भएकै दिन यसैको जगमा टेकेर नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । तर, अध्यादेशका कारण लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको थिएन ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सहभागी नहुने दबाब दिएपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निष्कर्षमा पुगेको हो ।
अध्यादेश खारेज भएसँगै अब सत्ता पक्षधर गठबन्धनका अन्य चार दलले मन्त्रीको नाम दिने भएका छन् । अब भोलि नै मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताइएको छ ।
