मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले मिति २०७८ असोज २० गते देखि ८१ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ।
कम्पनीको जारी पूंजी रु.६ अर्बको १०% अर्थात रु.६० करोड बराबरको रु.१०० अंकित दरका ६० लाख कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% अर्थात १८ लाख कित्ता साधारण शेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७०% अर्थात ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँड गरिएको तथा जारी पूंजीको १५% अर्थात ९० लाख कित्ता शेयर मध्ये ४% अर्थात ३ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ८१ लाख ९० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आउन लागेको हो।
निष्काशन मिति २०७८ असोज २० गते देखि असोज २५ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ कार्तिक ३ गते सम्म खुल्ला रहने छ।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
