मध्य भोटेकोसी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ९० करोड बराबरको ९० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । तीमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले सार्वजनिक गरेको विवरणपत्रअनुसार एक जनाले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । मध्य भोटेकोसी सरकारी आयोजना हो । सिन्धुपाल्चोकमा निर्माणाधीन यस आयोजनाको क्षमता १०२ मेगावाट छ ।
सेयर खरिदका लागि आवेदन दिने मिति असोज २५ गतेसम्मलाई तोकिएको छ । असोज २५ सम्ममा सबै सेयरका लागि आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन लिने मिति थप हुने कम्पनीले जनाएको छ । आवेदन दिन चाहनेले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो सेयर अनलाइन वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा विक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।
