चर्को प्रतिस्पर्धाका कारण साढे दुई वर्षयता ओरालो लाग्न सुरु भएको नेपाली सिमेन्टको मूल्य अहिले कतिपय भारतीय बजारको भन्दा पनि तल आइसकेको छ । पछिल्लो चार वर्षयता ठूलो क्षमताका सिमेन्ट उद्योगहरु सञ्चालनमा आएसँगै क्लिंकर र सिमेन्टमा चर्को मूल्य प्रतिस्पर्धा सुरु भएको हो ।
एकपछि अर्को ठूला उद्योगहरु थपिँदै गएपछि सस्तिएको क्लिंकरले गर्दा सिमेन्टको मूल्य लगातार घट्दै गएर अहिले भारतमा भन्दा नेपालमासस्तो पर्न थालेको उद्योगीहरु बताउँछन् ।
’अहिले बुटवलमा पिपिसी सिमेन्ट ४५० देखि ४७० रुपैयाँमा पाइन्छ, जबकि पारि गोरखपुरमा पिपिसी सिमेन्ट साढे तीन सय भारु (नेरु ५६०) भन्दा कममा पाइँदैन,’ नेपाल र भारतका दुई सीमावर्ती बजारको उदाहरण दिँदै सिमेन्ट उद्योगी पशुपति मुरारकाले भने । नेपालमा ओपीसी सिमेन्ट पनि अहिले प्रतिबोरा ५८० देखि ६०० रुपैयाँको हाराहारीमा झरिसकेको उनले बताए ।
उपभोक्ताले राम्रो भनेर विश्वास गरेको हेटौंडा सिमेन्टले पनि मूल्य घटाएको छ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट कम्पनीले ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निणर्य गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो ।
नेपालमा सिमेन्ट अझै सस्तो हुने सम्भावना छ । सिमेन्ट उद्योगमा आवश्यक बिजुली नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराइदिएमा सिमेन्ट बोरामा अझै ७५ रुपैयाँसम्म सस्तिन सक्ने उद्योगीहरु बताउँछन् । अहिले चाहिनेजति बिजुली नपाएका कारण उद्योगहरुले डिजेल र फर्नेस आयल प्रयोग गरेर उत्पादन गर्दै आएका छन् । जसका कारण लागत महँगो पर्न गएको छ ।
पछिल्लो समय थपिएका खासगरी ठूलो क्षमताका सिमेन्ट उद्योगहरुलाई पूणर्रुपमा नेपाल विद्युत प्राधिकरणले चाँडै बिजुली उपलब्ध गराइदिए उपभोक्ताले अझ सस्तोमा सिमेन्ट पाउने अवस्था रहेको उद्योगीहरुको भनाइ छ । उनीहरुका अनुसार सिमेन्टको उत्पादन लागतमा कच्चा पदार्थको हिस्सा ३० प्रतिशत हुन्छ भने ७० प्रतिशत लागत उत्पादन प्रक्रिया (प्रोसेसिङ) मा जान्छ । त्यसमा बिजुलीमा हुने खर्चले पनि उत्पादन लागतमा ठूलो प्रभाव पार्ने उनीहरु बताउँछन् ।
डिजेल, फर्नेस आयललगायतका इन्धन प्रयोग गरेर जेनेरेटरबाट बिजुली निकाली प्रयोग गर्दा त्यसको लागत विद्युत् प्राधिकरणले तोकेको महसुलभन्दा साढे दुई गुणासम्म महँगो पर्छ । जेनेरेटरको महँगो विद्युतले उद्योगको उत्पादन लागत नै बढाउँदा त्यसले सिमेन्टको मूल्य तल जान रोकेको छ ।
