चितवन – भरतपुर अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा पन्ध्र सय भन्दा बढीको नि:शुल्क उपचार गरेको छ । अस्पतालले चालु आवको साउन र भदौमा एक हजार पाँच सय ६७ जना बिरामीको नि:शुल्क उपचार गरेको हो ।
अस्पतालको सामाजिक सेवा इकाईबाट चालु आवको साउन र भदौमा एक हजार एक सय ५६ जनाको नि:शुल्क उपचार गरिएको छ । जसमध्ये छ सय चार जना महिला हुन् भने पाँच सय ५२ जना पुरुष हुन् । उनीहरुको उपचारमा २७ लाख ७१ हजार खर्च भएको अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले जानकारी दिए ।
बसौलाका अनुसार सोही अवधिमा चार सय ११ जना गरीब तथा विपन्न बर्गलाई निशुल्क आकस्मिक सेवा प्रदान गरिएको छ । यसका लागि १२ लाख ४६ हजार ११३ रुपैयाँ खर्च भएको छ ।
यस्तै विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७७/७८ मा स्पाइनल इन्जुरी भएका २६ जना बिरामीलाई आठ लाख २९ हजार नौ सय बराबरको नि:शुल्क उपचार सेवा दिएको अस्पतालका प्रवक्ता डा बसौलाले बताए । सोही अवधिमा अस्पतालले एक सय ५८ जना बिरामीलाई दुई करोड १८ लाख ४५ हजार बराबरको नि:शुल्क डायलाइसिस सेवा प्रदान गरेको छ ।
