भारतका केन्द्रीय राज्य मन्त्री आशिष मिश्रका छोराले धर्नामा बसेका किसानहरूमाथि कार कुदाएपछि चार जनाको मृत्यु भएको आरोप लागेको छ । त्यसपछि हिंसा भड्किँदा थप चार जना गरी आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा यी किसानहरू उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको विरोध गरिरहेका थिए। लखिमपुर खिरीका एएसपी अरुणकुमार सिंहले ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
यसैबीच भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । प्रियंका गान्धीले आफ्नो गिरफ्तारीको वारेन्ट नोटिस देखाउन माग गरेकी थिइन् । उनले आफूलाई जबर्जस्ती हिरासतमा लिए अपहरण ठहरिने चेतावनी दिइन् ।
अर्काेतिर लखिमपुरमा किसान नेता र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ । भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । आन्दोलनका क्रममा केही किसानको मृत्यु भएपछि लखिमपुर तनावग्रस्त छ ।
