बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीसहित पक्राउ परेका १२ जनालाई नै पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार दोस्रो चरणको अनुसन्धानका लागि पुनः अदालतको अनुमति लिने तयारी छ ।
उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ । आफूहरु ठगिएको भन्दै १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको महतोले बताए । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ।
‘अनुसन्धान गर्दै जाँदा अन्य कसुर देखिन आए मुद्दाको प्रकृतिअनुसार थप थुनामा राख्ने/नराख्ने टुंगो हुन्छ,’ महतोले भने। प्रहरी अनुसन्धान नसकिने भएकाले तामाङसहितका प्रतिवादी दसैंअघि छुट्ने सम्भावना कम छ । तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् । सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ छन् । उनी पनि पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमा भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने छन्। उनीहरू सहकारीको विभिन्न पदमा कार्यरत् कर्मचारी हुन्।
सहकारीको बचतको ठूलो हिस्सा तामाङले आफ्ना अन्य कम्पनीमा लगानी गर्दै आएका थिए। उनले करिब ९ अर्ब रुपैयाँ सहकारीको निक्षेप ऋण विभिन्न कम्पनीका नाममा लिएका छन्। ती कम्पनीले सहकारीको ऋण तिरेका छैनन्। निक्षेप माग्न जाँदा नपाएपछि बचतकर्ताहरूले प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
