काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने तयारी गरेको छ । शुक्रबार बिहान बस्ने पार्टीको सचिवालय बैठकले को को लाई कुन मन्त्रीमा सरकारमा पठाउने भन्ने निर्णय गर्नेछ ।
पार्टीले नेता बिरोध खतिवडालाई सहरी विकास मन्त्रालयमा पठाउने तय गरिसकेको छ । यस्तै प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा पठाउने तय गरिएको बताइएको छ ।
गठबन्धन दलहरुले सरकारमा जाने मन्त्रीहरूको नाम दिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रले भने बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ ।
को-को मन्त्री बन्ने भन्ने बिषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० पनि आन्तरिक छलफलमा छन् । कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भइसकेको छ ।
