रोयटर्स । अन्तत राष्ट्रिय ध्वजावाहक एयर इन्डिया भारत सरकारको स्वामित्वबाट निजी कम्पनीको हातमा पुगेको छ । टाटा सन्सले २ अर्ब ४० करोड अमेरिकी डलरमा एयर इन्डिया पाएको छ ।
उसले सो रकम बोली लगाएको थियो । एयर इन्डिया वित्तीय संकटमा फसेपछि सरकारले निजी क्षेत्रलाई बिक्री गरेको हो । लामो समयदेखि वित्तीय संकट झेल्दै आएको एयर इन्डिया निजीकरण गरिएको सरकारले शुक्रबार स्पष्टपारेको छ ।
एयर इन्डियाको निजीकरण योजना सफल हुनु प्रधानमन्त्री नरेन्द्र मोदीको विजय भएको बताइएको छ । एयरको दैनिक नोक्सान ३० लाख डलर थियो । बोलीको रकममा टाटाले एयर इन्डियाको २.२ अर्ब डलरको कुल ऋण ८ अर्ब २० करोड डलर सकार्ने भएको छ । जसको परिणामस्वरुप सरकारको इक्विटी मूल्य ४० करोड डलर मात्र हुनेछ ।
कम्पनीले एयर इन्डियाको १०० प्रतिशत स्वामित्व प्राप्त गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा लगानी विभागका सचिव तुहिन कान्त पाण्डेले जानकारी गराएका छन् । उनका अनुसार यो डिल सन् २०२१ भित्र सकिने छ । यसपछि एयर इन्डिया संस्थापक टाटा ग्रुपको हातमा जाने छ ।
टाटाले सन् १९३२ मा स्थापना गरेको एयर इन्डियालाई पण्डित जवहारलाल नेहरुले सन् १९५३ मा राष्ट्रियकरण गरेका थिए । राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको उत्पत्ति र टाटाको सम्बन्धको इतिहास एकदमै लामो छ । टाटाका जाहांगिर रतनजी दादाभोय जेआरडी टाटाले २ लाख भारुको पुँजीमा एयर इन्डियाको स्थापना गरेका थिए । सन् १९३२ मा उक्त कम्पनीको पहिलो उडानबाट उद्घाटन भएको थियो ।
तर, १९५३ मा भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरुले एयर इन्डियालाई राष्ट्रियकरण गरिएको थियो । भारतका पहिलो प्रधानमन्त्री पण्डित जवहरलाल नेहरुले राष्ट्रियकरण गरेको ६८ वर्षपछि रतन टाटाले एयर इन्डियालाई पुनः स्वामित्वमा ल्याउन सफल भएका हुन ।
टाटाले अहिले सिङापूर एयरलाइन्सका साथै बजेट एयरलाइन्स एयर एसिया इन्डिया सञ्चालन गरिरहेको छ । एयर इन्डियाको स्वामित्व हस्तान्तरणपछि टाटा ग्रुपको भारतमा आन्तरिक उडान हिस्सा बढेर २७ प्रतिशत पुग्नेछ । टाटा सन्सका इमिरेट्स चेयरम्यान रतन टाटाले ट्वीट गर्दे एयर इन्डियाको प्रतिष्ठा जोगाउन महत्वपूर्ण प्रयास भएको बताएका छन् ।
यसबाट टाटालाई वायुसेवा उद्योगमा ठूलो अवसर प्रदान गरेको उनले बताएका छन् । उनले ‘वेलकम व्याक एयर इन्डिया’ भनेका छन् । ‘एयर इन्डियाले भारतमा बेग्लै र आकर्षक पदचिन्ह पछ्याउने छ’ टाटा सन्सले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘उत्तर अमेरिका, युरोप र मध्यपूर्वका गरिने अन्तर्राष्ट्रिय उडानबाट दुईतिहाइ भन्दा बढी आम्दानी प्राप्त हुनेछ ।’
निजीकरणपछि ८ हजार पूर्णकालिन कर्मचारी प्राप्त गर्नेछ । एयर इन्डियासँग १२० वटा पुराना एयर बसका साथै केही नयाँ बोइङ विमानहरु छन् ।
एयर इन्डिया लगातार वित्तीय संकटमा फसेपछि मोदी सरकारले ४ वर्षदेखि खरिदकर्ता खोज्दै आएको थियो । विगतका वर्षहरुमा भारत सररकाले पटक पटक गरेर एयर इन्डियामा १५ अर्ब डलर लगानी गरिसकेको छ ।
