शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई तिहारअघि नै लाभांश वितरण गर्ने देखिएको छ । यो कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई २९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । साधारणसभाबाट पास भएपछि लाभांश वितरण हुनेछ ।
शिवम् सिमेन्टले लाभांशलगायतका अन्य प्रस्ताव पास गर्न कात्तिक १६ गते साधारणसभा आह्वान गरेको छ । यसपटकको तिहार (भाइटिका) कात्तिक २० गते परेको छ भने कात्तिक १८ गते लक्ष्मीपूजादेखि सार्वजनिक बिदा हुनेछ । शिवम्ले १६ गते साधारणसभाबाट लाभांश पारित गरेर १७ गते सेयरधनीको खातामा पठाउने सम्भावना छ ।
कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा कात्तिक १६ गते आयोजना गर्ने निणर्य गरेको हो । साधारणसभा काठमाडौंको होटेल सोल्टीमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ।
सधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको २९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ । कम्पनीले चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निणर्य गरेको छ । कात्तिक ७ गतेसम्म कायम सेयरधनी यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
