काठमाडौं – बझाङमा पहिरो जाँदा ७ घर पुरिएका छन् । थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका र सात घर पुरिएको बताइएको छ ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्कीका माइला छोरा काले सार्की मात्र सकुसल रहेको जनाइएको छ ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा।वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।
