काठमाडौं – चीनले नेपाललाई थप २० लाख मात्रा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादको क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेका हुन् ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीचको कुराकानीमा थप २० लाख मात्रा खोप अनुदान दिने कुरा भएको बारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरुबीच करिब एक घण्टा लामो कुराकानीभएको थियो ।दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।
कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमा पनि कुराकानी भएको थियो ।
