काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोबाट मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत दिलाउन सरकारसँग माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले सो माग गरेका हुन् ।
विज्ञप्तिमा प्रचण्डले बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । यस्तै उनले विपद्मा ज्यान गुमाएकाहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
उनले बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा आग्रह पनि गरेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति
पछिल्ला तीन दिनदेखि देशभर परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं. १, सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरि यस प्राकृतिक विपद्मा परी झण्डै तीन दर्जन भन्दा बढी नागरिक सम्पर्कबिहिन भएका छन् । धानवाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ ।
यस विपद्मा ज्यान गुमाउनुभएकाहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु ।
बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु । बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु ।
०३ कार्तिक, २०७८
पुष्पकमल दाहाल ‘प्रचण्ड
अध्यक्ष
