काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिंगो कम्युनिष्ट आन्दोलनमा विकराल स्थिति सिर्जना भएको बताएका छन् ।
बिहिबार तनहुँमा कांग्रेस भिमाद नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सो कुरा बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलन दिशाहीन भएको बताउँदै ‘नेपालका कम्युनिष्टहरूको कुनै गन्तव्य नभएको बताए ।
उनले भने – ‘नेपालका कम्युनिष्टहरूको कुनै गन्तव्य छैन, कहाँ जाने हो ठेगान भएन । तत्काल के गर्ने हो उदेश्य केही अत्तोपत्तो छैन् । सत्ता उपयोग गरे, शासनमा पुगे जनता झुक्काए । केही समय सत्ताको झिलीमिली देखाए । तर त्यो रामछायाँ भयो ।’
कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको बताउदै पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाइ मतलाई रामछायाँको संज्ञा दिए।
उनले भने – ‘कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो । तर, त्यो सत्य रहनेछ, असत्य रहेछ, टिकाउ रहनेछ । केवल मान्छे झुक्काउने नाटक रहेछ भन्ने सिद्ध भएको छ । त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिष्ट पार्टी आफैँमा चकनाचुर भएको छ । कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएको छ’
अधिनायकवादी शक्ति कम्युनिष्ट छिन्नभिन्न र टुटफुट हुँदैमा मख्ख हुने बेला नआएको भन्दै कांग्रेसका नेता कार्यकर्तालाई सावधान बन्न सुझाव दिए ।
