विराटनगर । अविरल वर्षापछि आएको बाढीका कारण विराटनगरको रिलाइन्स स्पिनिङ मिलमा ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । उद्योगभित्र बाढी पस्दा त्यहाँ धागो बनाउन राखिएको फाइबर बगाउनुका साथै पर्खालसमेत भत्काएको छ । उद्योगमा पानी छिरेर जलमग्न छ । धागो बनाउन राखिएको मेसिन पानीमा डुबेको सञ्चालक शशिकान्त अग्रवालले जानकारी दिए ।

‘क्षतिको एकीन आँकलन भइसकेको छैन,’ अग्रवालले भने, ‘तर, त्यहाँको अवस्थालाई विश्लेषण गर्दा ५० करोड रुपैयाँ माथि क्षति भएको हो ।’ उनका अनुसार रिलाइन्समा अहिलेसम्मकै सबैभन्दा बढी क्षति पुगेको हो ।

धागो बनाउन विदेशबाट ल्याइएको कच्चा पदार्थ कति बगायो भन्ने अझै टुंगो लागेको छैन । सबै मेसिनमा पानी पसेको अवस्था छ । तयारी धागो पनि धेरै नै बगाएको अग्रवालले जानकारी दिए ।

उनका अनुसार उद्योग सञ्चालनमा ल्याउन कम्तीमा पनि एक महिना लाग्छ । पानीका कारण बिग्रिएको मेसिन मर्मत गर्नका लागि भारतबाट प्राविधिक बोलाउनुपर्छ । कति ठाउँमा विद्युतीय तार नै छिनेको अवस्था छ । उत्पादित धागोसमेत बाढीले बगाएको छ । रिलाइन्स बाहेक विराटनगरका अन्य उद्योगमा पनि बाढी पसेर ठूलो नोक्सान पुर्याएको छ ।







