काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा दुरसञ्चार कम्पनी मध्ये एनसेल अजियटा लिमिटेड सरकारलाई सबैभन्दा धेरै कर बुझाउने संस्था बनेको छ ।
बहुराष्ट्रिय कम्पनी एनसेलले सरकारलाई दूरसञ्चार सेवा शुल्क, मूल्य अभिवृद्धि कर, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष, फ्रिक्वेन्सी र विभिन्न कर महसुल गरी २६ अर्ब ९८ करोड ७२ लाख २९ हजार ७ सय २७ रुपैयाँ बुझाएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा एनसेलले सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमलाई उछिन्दै करिव २७ अर्ब रुपैयाँ कर तथा राजस्व रकम भुक्तानी गरेको हो ।
सोही प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल टेलिकमले १२ अर्ब ५८ करोड ६० लाख ६३ हजार ८२० रुपैयाँ बुझाएको छ । एनसेलले भुक्तानी गरेको रकम दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले बुझाएको करबापतको रकममध्ये सबैभन्दा धेरै हो ।
यसबाहेक इन्टरनेट सेवाप्रदायकतर्फ वल्र्डलिंकले सबैभन्दा धेरै २ अर्ब ६८ करोड, ७३ लाख, ६९ हजार ३८४ रुपैयाँ कर तथा राजस्व भुक्तानी गरेको छ ।
हाल नेपालको दूरसञ्चार बजारमा एनसेलले ४१.५७ प्रतिशत हिस्सा ओगटेको छ भने नेपाल टेलिकमले ५२.४७ प्रतिशत हिस्सा ओगटेको छ ।
