पछिल्लो विवरणअनुसार बेमौसमी वर्षाका कारण तीनवटा प्रदेशमा धानबालीमा मात्रै सात अर्ब २२ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरणअनुसार यो आकडामा क्षति भएको अनुमान गरिएको हो ।
यी तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा असर मात्र परेको छ । दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान नष्ट भएको शुक्रबार रातिसम्मकाे प्रारम्भिक अनुमान छ । अनुमानित विवरणमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, कपिलबस्तु र रुपन्देही, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा प्रदेश १ का झापा, मोरङ र सुनसरीमा धानबालीमा अत्यधिक क्षति पुगेको छ । तराईमा पर्ने यी सबै जिल्ला धान उत्पादनमा अग्रणी हुन् ।
लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षाको असर सबैभन्दा धेरै परेको देखिएको छ । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । यस प्रदेशमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्याएको छ । यो क्षति चार अर्ब ५१ करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।
यस्तै सुदूरपश्चिमका दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको ६८ हजार चार सय मेट्रिकटन धान नष्ट भएको छ ।
यस्तै प्रदेश १ का तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । यस प्रदेशमा २८ हजार ४६९ मेट्रिक टन धान नष्ट भएको छ । यो भनेको ८० करोड रुपैयाँभन्दा बढी हुन आउँछ । वर्षाका कारण सातवटै प्रदेशमा क्षति पुगेको र अन्य प्रदेशबाट पनि क्षतिको अनुमानित विवरण माग गरिएको मन्त्रालयले जनाएको छ । जसअनुसार क्षतिको परिमाण अझै बढ्न सक्ने सम्भावना छ ।
धान नेपालको सबैभन्दा महत्वपूणर् बाली हो । दुईतिहाइ भन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ ।
नेपालमा खेती गरिने जमिन लगभग ३० लाख ९१ हजार हेक्टर छ । यसको झन्डै आधा भूभागमा धानखेती हुन्छ । नेपालमा बर्सेनि करिब ५५ लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुन्छ । यसपटकको बेमौसमी वर्षाले २ लाख ५८ हजारभन्दा बढी मेट्रिक टन धानमा क्षति पुर्याएको छ ।
