यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुला गरेको छ । दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन लिन बन्द गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले नयाँ आवेदन सोमबारदेखि खुला गरिएको बताए । उनले अनलाइनमार्फत आवेदन दिन सकिने जानकारी पनि दिए ।
‘वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ’, उनले भने । लाइसेन्सको परीक्षा दिने पालो भने आवेदकको फर्म भरेको चार/पाँच महिनापछि मात्रै आउने उनले बताए । लाइसेन्स लिन चाहनेको अत्यधिक संख्या, त्यसमाथि कोरोनाका कारण भएको लामो लकडाउनका कारण विभागमा लाइसेन्स वितरणसम्बन्धी काम पेन्डिङमा छ ।
कसरी भर्ने लाइसेन्सको आवेदन ?
अनलाइनमार्फत सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ । फारम भर्न यी विधि अपनाउनुपर्छ :
अनलाई फारम भर्न यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।
वेबसाइट पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने । त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने ।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यु वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।
त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।
