बैंक अफ काठमान्डू र एनआइसी एसिया बैंकले गत वर्ष कमाएको मुनाफाबाट सेयर धनीलाई दिने लाभांश प्रस्ताव गरेका छन् । बैंक अफ काठमान्डूले हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड २१ लाख ४४ हजार ७००.०६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमध्ये १० प्रतिशतले हुन आउने ९६ करोड ५८ लाख १७ हजार ६४२.९ रुपैयाँबराबरको बोनस सेयर र ४ प्रतिशतले हुन आउने ३८ करोड ६३ लाख २७ हजार ५७.१६ रुपैयाँबराबरको नगद लाभांश छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ ।
यस्तै अर्को वाणिज्य बैंक एनआइसी एसियाले चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल १५.७८९४७ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ५८ लाख ९५ हजार ५८४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ४६ लाख ८०५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७८९४७ प्रतिशतले हुन आउने ९ करोड १२ लाख ९४ हजार ७७९ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ ।
