लगानीकर्तामा आत्मविश्वास बढ्दा सेयर बजार लगातार तेस्रो दिन पनि उकालो लागेको छ । बैंकिङ प्रणालीमा तरलताको समस्या खासै समाधान हुन नसके पनि नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर कर्जासम्बन्धी नीतिमा संशोधन हुन सक्ने सम्भावना आकलन गर्दै लगानीकर्ताले खरिद चाप बढाउँदा नेप्से झन्डै ७९ विन्दुले उकालो लाग्न पुगेको छ ।
सँगसँगै सरकारले निर्वाचनको तयारी अघि बढाएको समाचार प्रवाह भएपछि पनि त्यसले बजारमा पैसाको तरलता बढाउने आकलन समेत लगानीकर्ताले गरेका छन् । यसरी लगानीकर्ताको मनोविज्ञान बुलिस बन्दा मंगलबार सेयर बजार सूचक नेप्से २.९५ प्रतिशतले बढी २७५१.०७ मा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.२८ प्रतिशतले बढेर ५१६.०८ विन्दुमा उक्लिएको छ ।
यस दिन कारोबार भएका सबै १३ वटै समूहको सूचक उकालो लागेको छ । सबैभन्दा बढी वृद्धि हुनेमा होटल्स तथा पर्यटन समूह देखिएको छ । यो समूहको सूचक ७.५१ प्रतिशतले बढेको छ । त्यस्तै वित्त समूह पनि ५.६१ प्रतिशतले बढेको छ ।
बढ्दो बजारलाई कारोबार रकमले पनि साथ दिएको छ । यस दिन ७२ हजार ९७३ कारोबारबाट एक करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँमा खरिद बिक्री भएका छन् । सोमबार ५३ हजार ७९२ कारोबारबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर चार अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँमा किनबेच भएका थिए ।
यस दिन कारोबार भएका २२७ स्क्रिप्टमध्ये २०६ वटाको भाउ बढ्दा १२ वटाको घटेको छ भने नौवटाको क्लोजिङ मूल्यमा कुनै परिवर्तन भएन । झन्डै डेढ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीमध्ये अधिकांश जलविद्युत् कम्पनी र केही फाइनान्स छन् । बढ्दो बजारमा पनि यस दिन सबैभन्दा बढी गुमाउनेमा साना किसान विकास बैंकका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।
