सरकारले स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने भन्दै बजेट प्रतिस्थापन विधेयकमार्फत् स्वदेशी डन्डी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको थियो । यसबाट आयात घट्ने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दाबी अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । उनले बजेटमार्फत फलामे डन्डी निर्माणमा प्रयोग हुने कच्चा पदार्थ स्पन्ज आइरनमा भन्सार महसुर घटाए भने एमएस बिलेटको भन्सार शुल्क बढाए । यो नीतिले एमएस बिलेटको आयात निरुत्साहित भई व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनको दाबी थियो । बजेटमार्फत लिइएको नयाँ नीतिले ३० अर्ब रुपैयाँको आयात घट्ने आकलन गरिएको थियो ।
तर प्रतिस्थापन बजेट आएपछिको पहिलो महिनाकै तथ्यांकले अर्थमन्त्रीको दाबीलाई गलत साबित गरिदिएको छ । भन्सार महसुल बढाइएपछि पनि एमएस बिलेटको आयात घटेको छैन । उद्योगीले असोज महिनामा मात्रै ११ अर्ब ४९ करोड ५३ लाख मूल्य बराबरको १२ करोड १७ लाख १४ हजार किलो एमएस बिलेट आयात गरेका छन् । उक्त आयातित एमएस बिलेटबाट सरकारले २ अर्ब २५ करोड ७९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ३७ अर्ब २० करोड ७२ लाख मूल्य बराबरको ४३ करोड २१ लाख २२ हजार केजी एमएस बिलेट आयात गरेको छ । यसबाट ७ अर्ब ५ करोड ४८ लाख रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।
सरकारले बिलेट उद्योगलाई प्रोत्साहन गरेपछि स्पन्ज आइरनको आयात पनि बढ्न थालेको छ । असोजमा मात्रै १ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ बराबरको ३ करोड ४५ लाख ६१ हजार केजी स्पन्ज आइरन आयात भएको छ । चालु आवको ३ महिनामा नेपालले ४ अर्ब ४० करोड ४६ लाख मूल्य बराबरको ७ करोड ८७ लाख ८७४ हजार केजी स्पन्ज आइरन आयात गरेको छ । यसबाट ७० करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालले अधिकांश बिलेट भारत, चीन, ताइवान र मलेसियाबाट आयात गर्छ ।
नेपालका फलामे डन्डी उत्पादकमध्ये अधिकांशले विदेशबाट टिएमएस बिलेट आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् । केही उद्योगले भने स्पन्ज आइरन आयात गरी डन्डी उत्पादन गर्दै आएका छन् ।
सरकारले बिलेट आयातलाई निरुत्साहन गरेर स्वदेशमै उत्पादन हुँदा रोजगारी पनि बढ्ने र आयातमा खर्च हुने रकम बच्ने अपेक्षा गरेर बिलेटमा भन्सार महसुल बढाई स्पन्ज आइरनमा घटाएको हो । नेपालमा पेट्रोलियम पदार्थ तथा सवारी साधनपछि सबैभन्दा बढी आयात हुने वस्तुमा एमएस बिलेट पर्छ । गत आर्थिक वर्षमा नेपालले भारतबाट मात्रै ७१ अर्ब रुपैयाँको एमएस बिलेट आयात गरेको थियो ।
