विश्वमा लोकप्रिय बन्दै गएको एक खेल हो क्रिकेट। हाल टि-२० विश्वकपको रौनकले विश्वको विरलै कुनै देश अछुतो रहेका होलान्। विश्व क्रिकेटको केन्द्रविन्दुमा रहेको भारतको छिमेकी देशको रुपमा रहेरपनि नेपालले अपेक्षित प्रवाहित गर्न नसकेको यथार्थ विद्यमान छ। नेपाल भन्दा ढिलो क्रिकेट सुरु गरेको सार्क राष्ट्र अफगानिस्तान आन्तरिक द्वन्द्वका बाबजुद पनि क्रिकेटमा गरेको प्रगति लोभलाग्दो छ। नेपालमा पनि क्रिकेट विकासको सम्भावना प्रबल छ तर यहाँको क्रिकेट संघमा भएको राजनीति, अस्तव्यस्तता,खेलाडीको सुनिश्चित भविष्य निर्धारण गर्न नसकेका कारण नेपाल भन्दा निकै पछि क्रिकेट सुरु गरेका अफगानिस्तान, ओमन जस्ता राष्ट्रहरु विश्व क्रिकेटमा बलियो प्रतिद्वन्द्वीका रुपमा स्थापित हुने बाटोतर्फ अग्रसर छन्।
कुनै समय नेपालको बलियो खम्बाको रुपमा देखिएका पारस खड्काको सन्यास पछि नेपाली टिमको अबको यात्रा कता जान्छ भन्ने कुरा नेपाल सरकार र क्यानको सुक्ष्म व्यवस्थापन र खेलाडीको प्रदर्शन निकै नै प्रशंसनीय छ, तर त्यस प्रदर्शनलाई यथावत् राख्न ति उदीयमान खेलाडीको क्रिकेट खेलेर भविष्य सुनिश्चित छ भनेर विश्वस्त बनाउन सक्ने आधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद क्यान र नेपाल सरकार नै लाग्नुपर्ने देखिन्छ।विगतमा राम्रो सम्भावना देखाएका नरेश बुडाएर, अमृत भट्टराई, निश्चल पाण्डे जस्ता खेलाडीहरु क्रिकेट बाट भविष्य सुनिश्चित नदेखेर विदेश पलायन भएका उदाहरण हामीसँग छ। राष्ट्रिय टिममा परेर राम्रो प्रदर्शन गर्दा सम्म खेलाडीको हाइहाइ र नराम्रो समयको बेला वास्ता नगर्ने प्रवृत्तिको अन्त्य नभएसम्म यो क्रम जारी रहन्छ।नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई चितवन को क्रिकेट एकेडमीबाट चुनेर राष्ट्रिय टोलीमा लगेपछि उनले विश्व क्रिकेटमा देखाएको प्रदर्शन निकै नै लोभ लाग्दो छ।नेपालमा कयौं यस्ता खेलाडी उत्पादन हुन सक्छन्। त्यसका लागि उत्कृष्ट क्रिकेट संरचना र खेलाडीको सुनिश्चित भविष्य निर्धारण गरिनु आवश्यक छ।नेपालमा धेरै बच्चाहरु हाल क्रिकेट खेल्ने सपना बोकेर हिडिरहेका छन्। उनिहरु को सपना पुरा गर्न उनिहरु तबसम्म तत्पर रहन्छन् जबसम्म तिनिहरु समक्ष पारिवारिक जिम्मेवारी उत्पन्न हुदैन।खेल खेलेर राम्रो आम्दानी नहुने, खेलमा चरम राजनीतिकरण हुने जस्ता कारणले गर्दा क्रिकेट खेलेर परिवारको सबै जिम्मेवारी पुरा गर्छु भन्ने सोचले मुर्तरुप पाउदैन र पासपोर्ट बनाएर खाडी मुलुक जाने बाध्यता आईपर्छ।
क्रिकेट खेलेर देशलाई चिनाउछु भन्ने सोच बनाएर अगाडि बढेको युवा हुँ म विदुर पौडेल।विगत आठ वर्षदेखि निरन्तर क्रिकेट खेल्दै आईरहेको छु। तर हाल ममा क्रिकेट खेलेर नै मेरो सबै पारिवारिक कर्तव्य र जिम्मेवारी पुरा गर्न सक्ने छैन कि भन्ने सोच बारम्बार मेरो मस्तिष्कमा आउछ।चितवन क्रिकेट एकेडमीबाट फास्ट बलरको रुपमा खेल जिवन सुरु गरेको म हाल २० वर्ष भए।
त्यस क्रममा विभिन्न जिल्ला स्तरीय र क्षेत्रीय प्रतियोगिता मा खेलीसकेको छु र राष्ट्रिय खेल खेल्ने क्रममा विभिन्न कारणबाट राष्ट्रिय प्रतियोगिता हुन सकेन।त्यसपछि उच्च शिक्षा पुरा गर्नुपर्ने बाध्यताले मेरो क्रिकेट जिवन सुस्ताएको आभाष भैरहेको छ। क्रिकेट खेलेर मेरो भविष्य सुनिश्चित हुन्छ भन्ने बलियो आधार हुन्थ्यो त म उच्चशिक्षालाई थाती राखेर क्रिकेट खेल्न जारी राख्न सक्थे। त्यसो नभएकोले म जस्तो क्रिकेटमा उच्च लगाब भएको म,अब विदेशीन पर्छ र परिवारलाई आर्थिक रुपमा सबल बनाउनुपर्छ भन्ने विचार उत्पन्न भएको छ।
म त केवल एक प्रतिनिधि पात्र हुँ।म जस्ता कयौं युवाहरु यस अवस्थाबाट गुज्रिएका छन्।म जस्ता युवाहरु भित्र रहेको क्रिकेट प्रतिको मोह र क्रिकेटबाट नै राष्ट्रलाई चिनाउने दृढ संकल्प जिवित राख्न तल्लो तह देखि नै क्रिकेट संरचना बलियो हुनुपर्छ।तल्लो तहमा खेल्ने खेलाडीलाई पनि आवश्यक सुविधाहरु प्रदान गरेर राष्ट्रको गहनाको रुपमा स्थापना गर्न पहल गर्नुपर्छ। क्यानमा भएको फोहोरी राजनीति समाप्त भएमा नेपालले विश्वमा सनसनी मच्चाउने खेलाडी उत्पादन गर्न सक्छ।तसर्थ नेपालमा क्रिकेट विकास गरि खेलाडीले खेल खेलेर देशलाई योगदान दिने सपना साकार गर्ने उद्देश्य पुरा गर्न सर्वप्रथम खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ,खेल क्षेत्रलाई सफा बनाउनुपर्छ र खेल संरचना बलियो बनाउनुपर्छ।।
“क्रिकेट क्षेत्रमा खेलाडीको यथार्थ”
“क्रिकेट क्षेत्रमा खेलाडीको यथार्थ”
तपाईको प्रतिक्रिया
