काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने बताएका छन् । शनिवार सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले भने – ‘एमाले सिध्याउन कुदेका छन् । किन सिध्याउने भन्दा यो साढे तीन वर्ष अचम्मै गर्यो । कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ । अस्पताल बनेको छ । एमालेले सिध्याउने भो भनेर भत्भत् पोल्यो । हाम्रो विकास देखेर हाम्रा विरोधीहरु आत्तिए । एमाले विरोधी भनेको देशविरोधी हो’
उनले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरे। नेपालको दौडधुप देखेर दया लागेको बताउदै भने ‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ । कहिले पोखरा, कहिले धरान धनकुटा, कहिले बागलुङ, कहिले कहाँ ? हातमा टोपी लिएर कुदेका छन् । देश बनाउन होइन, एमाले बिगार्न कुद्या छन्,’
उनले थपे, ‘राणातन्त्रले मार्न नसकेको, कांग्रेसले प्रतिबन्ध लगाएर मास्न नसकेको, ०४६ सालमा कार्यकर्तामाथि देशभर मुद्दा लाग्दा सकिएन, राजतन्त्रले सकेन, कांग्रेसले सकेन । राजतन्त्र सिध्याएर आएको पार्टीलाई अब सिध्याउँछु को लागेको छ भने माधव नेपाल ।’
