सरकारले बिजुलीबाट चल्ने गाडी प्रयोगमा ल्याउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन विद्युतीय गाडी प्रयोगमा जोड दिएकी हुन् । आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत उपयोग हुने सवारीसाधन प्रयोग गर्नुपर्ने उनले बताइन् ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै दुई अर्ब र खाना पकाउने एलपी ग्यास आयातमा ४० अर्ब खर्च भइरहेको बताइन् । बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत उपयोग बढाउनुको विकल्प नरहेको उनले स्पष्ट पारिन् ।
मन्त्री भुसालले विद्युतीय सवारीसाधनको प्रवर्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने तर्क गरिन् । यति बेला दैनिक चारपाँचसय मेगावाट बिजुली खेर गइरहेको छ । सरकारले यो अवस्थालाई ध्यान दिई बिजुलीको खपत बढाउन उपयोगी हुने नीति लिएको छ । सरकारले हालैमात्र विद्युत महसुल घटाएको छ, जुन मंसिर १ गतेदेखि लागू हुँदैछ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारीसाधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण गर्दैछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतको खपत बढाउन विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण भइरहेको छ । बिजुली उपभोग बढाउने नीति नलिए आगामी दिनमा खेर जाने बिजुलीको मात्रा अझै बढ्ने प्राधिकरणको विश्लेषण छ । भइरहेको बिजुली खेर गइरहेका बेला आगामी पुसमा थप ३० मेगावाट बिजुली थपिँदैछ ।
