घलेम्दी हाईड्रो लिमिटेड (GHL) ले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा रु.२.१७ करोड घाटा व्यहोरेको छ जसका कारण प्रति शेयर आम्दानी रु.१६.८१ ऋणात्मक हुन आएको छ। अघिल्लो आर्थिक वर्षमा पनि कम्पनी रु.३.०२ करोड घाटामा रहेको थियो।
हाल ५ मेगावाट क्षमताको घलेम्दी खोल जलविद्युत आयोजना संचालन गरी बिध्युत बिक्री आम्दानी बढाए पनि बैंक वित्तिय संस्थाहरु बाट लिएको कर्जा वापत तिर्नु पर्ने व्याज खर्चका कारण कम्पनी घाटामा गएको हो। अघिल्लो आ. व. को पहिलो त्रैमासमा रु.१.७० करोड वित्तिय खर्च भएकोमा चालु आ. व. को पहिलो त्रैमासमा उक्त खर्च बढेर रु.१.९४ करोड भएको छ।
रु.५५ करोड चुक्ता पूंजी रहेको यस कम्पनीको जगेडा तथा कोष रु.६.७४ करोडले ऋणत्मक रहेको छ। यस्तै, कुल शेयरधनीकोषमा रु.४८.२५ करोड रहेको छ भने प्रति शेयर किताबी मुल्य रु.८७.७३ कायम हुन आएको छ।
यस्तै, अघिल्लो त्रैमासमा रु.८५.१९ करोड रहेको कर्जा सापट बढेर रु.९४.०२ पुगेको छ जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात २.२४ गुणा कायम हुन गएको छ। कर्जाको अंश वृद्धि हुँदै गएमा व्याज खर्चका कारण कम्पनीको नाफा नोक्सान हिसाबमा उलेख्य असर गर्नेछ।
यस कम्पनी द्वारा निर्माण गरिएको घलेम्दी खोला ज. वि. आ. (५ मे वा) मिति २०७६ फाल्गुन ५ देखि नै व्यापारिक उत्पादन सुरु गरेकोमा ने. वि. प्रा. कालिगण्डकी कोरिडोर प्रसारणलाईन आयोजना अन्तर्गतको दाना सव-स्टेसनको निर्माण कार्यमा भएको ढिलाईको कारण ने. वि. प्रा. द्वारा बैकल्पिक व्यवस्थापन गरी कुल क्षमताको करिब २०% क्षमतामा आयोजना संचालन गर्नु परेको थियो। तत्पश्चात मिति २०७७ माघ १७ मा कालिगण्डकी कोरिडोर प्रसारणलाईन आयोजना अन्तर्गतको दाना सव-स्टेसनको निर्माण कार्य सम्पन्न भई यस आयोजनाले उत्पादन गरेको सम्पूर्ण विद्युत राष्ट्रिय प्रसारण लाईनमा प्रवाह गरिएको छ।
