मेहनत गरेर लगाएको बालीबाट राम्रो उत्पादन लिन पाइने आशा सबै किसानको हुन्छ । तर कहिलेकाहीं बालीले धोका दिएपछि किसानका हातमा उत्पादन होइन, किसानका हातमा निराशा हात पर्छ । यस्तै भएको छ भक्तपुरको चाँगुनारायण नगरपालिकाका केही किसानलाई । उनीहरुले धेरै फल्ने आशमा हाइब्रिड धानको बिउ प्रयोग गरेर रोपाइँ गरेका थिए । बोटमा धान त फल्यो तर भित्र चामल पर्न सकेन । यति बेला उनीहरुको हातमा भुसमात्रै परेको छ ।
बिउले धोका दिएर समस्यामा परेका किसानले थोरै भए पनि राहत दिने घोषणा नगरपालिकाले गरेको छ । नगरपालिकाका ७० किसानले २०० रोपनी जमिनमा लगाएको धानमा भुसमात्रै फलेको नगरपालिकाले जनाएको छ । मेहनत गरेर लगाएको बालीले धोका दिएपछि पीडामा परेका किसानलाई थोरै भए पनि राहत दिने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । क्षति भएअनुसारकै क्षतिपूर्ति दिन नसके पनि केही राहत उपलब्ध गराउँछौं- उनले भने ।
नगरपालिकाका कृषि विज्ञले सिफारिस नगरेको र किसानलाई नलगाउन भनिएको धान नफलेर भुसमात्रै भएकाले धेरै फल्ने आशामा जथाभावी धान नरोप्न नगरप्रमुख मिश्रले किसानलाई सुझावसमेत दिएका छन् । किसानले चिनियाँ धान डिवाइ २८, खुमल-८ लगायतका प्रजातिको बीउ ल्याएर रोप्दा उत्पादन न्यून भएको बताएका छन् । हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले सरकारले आफूहरूलाई राहत दिनुपर्ने किसानको माग छ ।
