सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई सात प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कात्तिक २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी निणर्य गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् लाभांश वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । ६.६५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १५.८४ रुपैयाँ थियो ।
