कुरो २०७८-०७-२२ बिहानको हो। बुवा र म काठमाण्डौं जाने भनेर माडि-काठमाडौं चल्ने घिमिरे ट्राभल्स ( हाइस माइक्रो) चढियो। करिब ७ बजेतिर सेती दोभान पुग्दा माइक्रोको ब्रेकले काम गरेन।
अगाडिबाट गाडी आइरहेको छ भने बायाँ पट्टि त्रिशुली। अर्को विकल्प भनेको दायाँ मोड्ने। त्यतिबेला मनमा एउटै कुरा आयो “सायद आज अन्तिम दिन हो”।
सबै यात्रुहरु चिच्याउन, कराउन लागे। मलाइ भने कसरी संगै हुनुभएको बुवालाइ बचाउ भन्ने थियो र परिवारका सबै जनालाइ एकचोटी सम्झिए। यत्तिकैमा हामीलाई तलतिर तान्यो र झड्याम्म आवाज सुने। त्यसपछि गाडिले कति बल्ड्याङ खायो, हामीले कति खायौ केही पत्तो पाइएन।
सायद २/३ बल्ड्याङ खाएको हुनुपर्छ। गाडी खोल्सामा झरेपछी रोक्कियो अनि म जुरुक्क उठेछु। हेर्छु ढोका त तल परेछ। अनि बुवा बुवा भने, त्यत्तिकैमा बुवाले पनि सुबास सुबास भन्दै उठ्नु भयो। बाहिर निस्कने कसरी?
झ्यालको सिसा फोरौं भने हामीमा त्यति सामर्थ्य थिएन। बल्ल बल्ल माइक्रोको झ्याल खोल्न सफल भइयो र म निस्के, बुवालाइ माथी ताने र गाडीबाट झारे। जब गाडिबाट झरियो अनि लाग्यो कालको ठूलो मुखबाट हामी सकुसल फिर्ता आइयो।
अनि अरु आएर सबैलाइ गाडिबाट निकालियो। हामी मध्य अल्लि सिरियसलाई पहिलो एम्बुलेन्समा हालेर पठाइयो। त्यसपछी हामी पनि अस्पताल आयौं। ज्यान कसैको गएन।
उपचारपछी सबै जना घर फर्किए। भित्री चोट नभएको हुनाले बुवा र म पनि घर फर्कियौं। बाहिरी अलिअली चोट भने लाएको छ। त्यो दिन हाम्रो लागि अहिलेसम्मकै सबैभन्दा खुशीको दिन रह्यो। मृत्युु हाम्रो अगाडि थियो, त्यहिपनी बाँचेर आउन सफल भयौं।
अर्को जुनि बाँचेको अनुभूति भयो। दुर्घटना स्थलदेखी अस्पताल हुँदै घरसम्म आउँदा प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्नुहुने सम्पुर्णप्रति हार्दिक आभार प्रकट गर्दछु।
अहिले बुवा र म घरमा आराम गर्दै छौं। ठिक छौं।
