ठगी आरोपमा पक्राउ परेको घरजग्गा कारोबारी तथा बैंकर इच्छाराज तामाङविरुद्ध एक हजार तीन सय ७५ जनाले उजुरी दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी हिरासतमा राखिएका तामाङविरुद्ध उजुरीको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङविरूद्ध ब्युरोले अनुसन्धानका क्रममा करिब ६ अर्ब रुपैयाँको बिगो तयार पारेको छ ।
सर्वसाधारणले निक्षेपका रुपमा सिभिल सहकारीमा जम्मा गरेको रकम मनपरी ढंगले ऋणका रुपमा निकालेर वर्षौंसम्म नतिरेको आरोप पीडितले लगाएका छन् । तामाङ आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा ब्युरोले उनलाई पक्राउ गरेको हो ।
सहकारीले दुई वर्ष (२०७६ वैशाख) देखि बचतकर्ताको रकम फिर्ता नगरेको सहकारी पीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताएका छन् । प्रहरीले तामाङमाथि मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
सिभिल सहकारीमा जम्मा भएको सर्वसाधारणको निक्षेप रकम तामाङ र उनको परिवारका २१ वटा कम्पनीका नाममा कर्जा लिइएको र वर्षौंसम्म नतिरेको ब्युरोको अनुसन्धानले पनि देखाएको स्रोतले बतायो । यसरी निकालेको रकम ६ अर्ब हाराहारी छ ।
ब्युरोले सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा तामाङसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । सिभिल सहकारीको पूर्वअध्यक्षसमेत रहेका तामाङलाई ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो । त्यसयता उनी हिरासतमा छन् । ब्युरोले अदालतबाट म्याद लिई तामाङको ठगीबारे अनुसन्धान गरिरहेको छ । १० दिन भित्र अनुसन्धान सकी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइने ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए ।
तामाङले सहकारीबाट ऋण निकालेर लगानी गरेको सिभिल होम्समा २०६३ पछि ११ सय वटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ । ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्बजति हुन्छ । तर त्यो बिक्रीको पैसा तामाङले सहकारीको ऋण तिर्न प्रयोग गरेनन् ।
यति बेला ब्युरोको अनुसन्धानमा यसरी घर र अपार्टमेन्ट बेचेर जम्मा भएको पैसा कहाँ गयो प्रश्नले पनि ठाउँ पाएको छ । तामाङले यो पैसा विदेशमा लुकाएको आशंकामा अनुसन्धान भइरहेको स्रोतले बतायो । तामाङले वर्षौंदेखि सत्ता र शक्तिको आडमा सर्वसाधारणको रकम ठगी गर्दै आएका थिए । यति बेला उनलाई साथ दिने समूह कम्जोर बनेपछि तामाङ प्रहरीको पकडमा आएका हुन् ।
यसअघि तामाङ एमाले कोटाबाट सांसद थिए । त्यति बेला पनि उनी सिभिल बैंकका अध्यक्ष थिए । सांसद रहँदा पदको दुरुपयोग गरेर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनमा उनले ठूलो चलखेल गरेका थिए । त्यति बेला बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेका उनीलगायत केही सांसदको दबाबमा बाफियामा प्रबन्ध सञ्चालक र कार्यकारी अध्यक्षको व्यवस्था, स्थापनाको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न पाइनेलगायत वित्तीय स्थायित्वमा असर पर्ने व्यवस्था गरिएको थियो ।
केही वर्षअघिदेखि सिभिल सहकारीमा समस्या रहे पनि २०७६ पछि मात्र उक्त विषय बाहिरिएको हो । सहकारीको रकम सिभिल होम्सलगायत तामाङ आबद्ध अरू कम्पनीमा लगानी गरेको र उक्त रकम सहकारीलाई भुक्तानी नगरेकाले समस्या सिर्जना भएको थियो । त्यति बेला सहकारीले सार्वजनिक रूपमा सूचना जारी गरेर निक्षेपकर्ताको रकम बिस्तारै फिर्ता गर्दै जाने बताएको थियो । त्यसपछि सहकारीले स-सानो रकममा बचतकर्ताको रकम पनि फिर्ता गरेको थियो । तर त्यतिबेला सहकारीले आफ्ना चिनजान र नातेदारलाई मात्र बचत फिर्ता गरेको संघर्ष समितिका संयोजक सत्यालको आरोप छ । पैसा फिर्ता माग्न गएका बचतकर्तालाई सहकारीले अनेक बहानामा झुक्याएर रकम नतिरेको उनको भनाइ छ ।
