वित्तीय प्रणालीमा रहेको तरलता संकट टार्न नेपाल राष्ट्रबैंकले फेरि २० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्रबैंकले सूचना जारी गरी बिहीबार १४ दिने रिपो जारी गरिने जनाएको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएका बेला त्यसको अल्पकालीन व्यवस्थापनका लागि राष्ट्रबैंकले अल्पकालीन अवधिकै रिपो जारी गर्ने गर्छ ।
राष्ट्रबैंकका अनुसार रकम आवश्यक परेका वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजे बोलकबोलमार्फत रिपो खरिद गर्न सक्छन् । यो रिपो मंसिर ९ गते परिपक्व हुनेछ ।
चालू आर्थिक वर्ष सुरु भएदेखि नै बैंकिङ प्रणालीमा तरलता अभावको दबाब पर्दै गएको छ । यही कारण बैंहरुले निक्षेपको ब्याजदर झन्डै १० प्रतिशत हाराहारी पुर्याइसकेका छन् । तरलता संकट सुरु हुनु अघि यस्तो ब्याजदर अधिकतम ६ प्रतिशतमा झरेको थियो । सरकारले खर्च गर्न नसक्दा र रेमिट्यान्स आप्रवाह घट्दा तरलता संकट परेको विश्लेषण गरिएको छ । यसमाथि राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडी रेसियोको सट्टा सिडी रेसियो लागु गरेपछि बैंकहरुको ऋण प्रवाह गर्ने क्षमता घटेका कारण पनि तरलता संकट सिर्जिएको तर्क पनि विज्ञहरुको छ ।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् । राष्ट्रबैंकले तरलता संकटको अल्पकालीन व्यवस्थापनका लागि केही महिनायता पटकपटक रिपो जारी गर्दै आएको छ । बैंकहरुले राष्ट्रबैंकले जारी गर्ने रिपो रकमको तीनचार गुणासम्म माग गर्ने गरेका छन् ।
