गण्डकी प्रदेशअन्तर्गत कास्कीको रुपाकोट गाउँपालिका २५ करोड रुपैयाँ लगानीमा सेरामिक्स उद्योग खुल्ने भएको छ । उद्योग सञ्चालकले स्वदेशी माग आपूर्ति गर्नुका साथै विदेश निर्याल गर्ने लक्ष्य राखेर त्यसैअनुरुप उद्योग सञ्चालनको तयारी गरेका छन् ।
रुपाकोटको पोल्यान्डमा ८० रोपनी जग्गामा उद्योग स्थापना हुन लागेको छ । अहिले जग्गालाई उद्योगलाई उचित स्वरुप दिएर भौतिक निर्माण थालिएको कम्पनीले जनाएको छ । उद्योग सञ्चालनका लागिथ बंगलादेशी परामर्शदातासँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । बंगलादेशी सेरामिक्स विज्ञ प्रमिल दासको डिजाइन र सुपरभिजनमा काम सुरु भएको सञ्चालकले जनाएका छन् । उद्योगमा स्वदेशी ६ व्यवसायीको लगानी रहेको छ ।
लगानीकर्तामध्येका एक इन्जिनियर कृष्णभक्त दुवालले ६ महिनाभित्र उत्पादन थाल्ने योजना रहेको जानकारी दिए । उद्योग सञ्चालनका लागि चीनबाट मेसिन ल्याउन सम्झौता गरिएको उनले बताए । आफूहरुले वातावरणमैत्री उद्योग सञ्चालनमा ध्यान दिएको उनको भनाइ छ । कम्पनीले यसका लागि जर्मनी हफम्यान प्रविधि (इँटा पोल्ने जर्मन प्रविधि) को प्रयोग गर्ने भएको छ । उद्योगले कलात्मक घर तथा मठमन्दिर बनाउन आवश्यक कलात्मक इँटा, चाइनिज र लोकल इँटा पनि उत्पादन गर्नेछ ।
नेपालमा हाल भारत लगायत देशबाट सेरामिक्स आयात भइरहेको छ भने यहाँंबाट पनि विभिन्न सेरामिक्स प्रोडक्ट जर्मनी लगायतका देशमा निर्यात भइरहेको जनाइएको छ । नेपालबाट बुट्टे इँटा, डाँची इँट्टा लगायतका सेरामिक्सका इँटा निर्यात भइरहेका छन् ।
देशमा सेरामिक्सका सामान उत्पादन गर्ने उद्योगहरु आवश्यक मात्रामा स्थापना गर्न नसक्दा वर्षेनि देशबाट १० अर्ब रुपैयाँभन्दा बढी बाहिरिने गरेको छ । सेरामिक्स बनाउन आवश्यक पर्ने माटो नेपालमै उपलब्ध भए पनि उद्योग नभएका कारण विदेशबाट सामान आयात गर्नुपर्ने बाध्यता छ ।
निकासी तथा व्यापार प्रवद्र्धन केन्द्रका अनुसार सेरामिक्स आयातको क्रम बर्सेनि बढ्दो छ । विगत १० वर्षमा सेरामिक्सको वार्षिक आयातको औसत वृद्धिदर ३० प्रतिशत हाराहारी रहेको केन्द्रको तथ्यांक छ । स्वदेशी सेरामिक्स उत्पादनले नेपाली बजारको १० प्रतिशत मात्रै माग धान्छ । आयातित सेरामिक्समध्ये भारतबाट ८० प्रतिशतभन्दा बढी आउँछ ।
